चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन:अमेरिका

काठमाण्डु टुडे २०७९ चैत ८ गते १७:१८ मा प्रकाशित

एजेन्सी– अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने आरोप लगाएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ ।

मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने चीनको लक्ष्यप्रति अमेरिकाले यस्तो बताएको हो ।

अमेरिकाले चिनको आलोचना पनि गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन ।

उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने पनि बताएका छन ।

युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचितत्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us