अफगानिस्तानमा गएको भूकम्पको कम्पनले पाकिस्तानमा ९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ८ गते ८:३८ मा प्रकाशित

काठमाण्डु, ८ चैत– अफगानिस्तानमा गएराति गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ ।

भूकम्पमा परी अरु १ सय बढी घाइते भएको अल्जजिराले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार राति १० बजेर १७ मिनेटमा राजधानी काबुलदेखि ३ सय किलोमिटर टाढा जुर्म भन्ने स्थानलाई केन्द्रबन्दिु बनाएर ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको कम्पन भारत, पाकिस्तान, काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न स्थानसम्म पुगेको थियो ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा भूकम्पमा परी दुई जनाको मृत्यु भएको त्यहाँको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीलाई उद्धृत गर्दै सिएनएनले समाचार लेखेको छ । सीएनएनका अनुसार भूकम्पमा परी पाकिस्तानको खैबुर पख्तुनख्वा प्रान्तमा ९ जनाको ज्यान गएको छ । त्यसमध्ये दुई जना बालबालिका छन् ।

भूकम्पपछि आएको पहिरोका कारण उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडक अवरुद्ध भएको छ । उक्त स्थानमा सयौं घरहरु भत्किएका छन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा गत वर्ष ६.१ रेक्टरको भूकम्प जाँदा एक हजारभन्दा बढीको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us