
एजेन्सी -कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए ।
रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसधारणको ज्यान गएको हो ।त्यस्तै उत्तरी किभुमा पनि उनीहरुले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् ।
इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले जानकारी दिए । उनले पछिल्ला केही हप्तामा पूर्वी कङ्गोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ ।
यहाँ संयुक्त राष्ट्रसङ्घीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।