
बुटवल, ४ चैत– काँग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन नहुने बताएका छन् ।
प्रेस युनियनले शनिबार बुटवलमा गरेको कार्यक्रममा केसीले अस्पष्ट संवैधानिक व्यवस्थाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित भएको टिप्पणी गरे ।
संविधानमा भएको अस्पष्ट व्यवस्था संशोधनमार्फत हटाएर एक पदमा पुरुष र एकमा महिला हुनुपर्ने प्रावधान राखिनुपर्ने उनको भनाइ थियो । कार्यान्वयनका क्रममा कमजोरी देखिए संविधानका प्रावधान सच्याउँदै जानुपर्नेमा केसीले जोड दिए ।
‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा फरक समुदायको भनेकाले फरक समुदाय भनिएकाले दुवैमा पुरुष निर्वाचित हुने बाटो खुल्यो’, केसीले भने, ‘एउटा पदमा महिला नै हुनुपर्छ भनेर तोकिएको भए बाध्यकारी हुने थियो ।’
फरक प्रसंगमा उनले समानुपातिक पद्धतिमा पनि निर्वाचित हुनुपर्ने प्रावधान राखिनुपर्ने तथा प्रदेश र स्थानीय सरकार संघीय सरकारसँगको समन्वयमा चल्ने विधि निर्माण गरिनुपर्ने बताए ।