१० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाण्डु टुडे २०७९ चैत ४ गते २०:४५ मा प्रकाशित

काठमाण्डु, ४ चैत– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको १० दल बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

एमाले र राप्रपाले सरकारलाई समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सत्तारुढ घटकले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तै सरकारले आइतबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दैछ । विधेयकमा १० दलबीच समान धारणा बनाउने सहमति पनि भएको छ । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगसम्बन्धी ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुन लागेको हो ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीका नेता सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us