
एजेन्सी– संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको छ । अमेरिका र दक्षिण कोरियाले आज सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा गरिएको पाँच वर्ष यताकै सबैभन्दा ठूलो अभ्यास भएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन । आज सोमबार बिहानै उत्तर कोरियाले दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।
नेता किम जोङ उनले शत्रुहरुको युद्ध उन्मादलाई जवाफ दिन आदेश दिए लगत्तै क्षेप्यास्त्र परीक्षण गरिएको कोरियाली अधिकारीलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जानकारी दिएको छ ।
यसैबीच, अमेरिका र दक्षिण कोरियाको १० दिने सैन्य अभ्यास पनि सोमबारदेखि नै सुरु भएको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित अभ्यासका रूपमा हेरर्दै आएको छ ।