राजनीतिमा जे पनि सम्भव छ: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन २५ गते १४:२२ मा प्रकाशित

काठमाण्डु,२५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सम्भव रहेको बताएका छन ।

आज (बिहीबार) संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले राजनीतिमा जे पनि सम्भव हुने बताएका छन । उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन’ । उनले बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताएका छन ।

ओलीले विगतमा संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको पनि बताएका छन । उनले भने, ‘संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगर्ने कुरा, एक त राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us