सुदूरपश्चिम प्रदेश संरकारमा नागरिक उन्मुक्तिको अडान कायमै

काठमाण्डु टुडे २०७९ माघ २४ गते १८:३४ मा प्रकाशित

काठमाण्डु,२४ माघ– सुदूरपश्चिम प्रदेशका संरकारमा नागरिक उन्मुक्ति पार्टी नाउपा सहभागी नहुने भएको छ । नागरिक उन्मुक्ति पार्टी आफ्नो मुद्दाबारे पुनः प्रमुख दलहरूलाई स्मरण गराएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भोलि विश्वासको मत लिन गइरहेका बेला सो पार्टीले पुनः आफ्नो मुद्दाबारेको अडान अगाडि सारेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिनेबारे मंगलबार डिल्लीबजार कारागारमा सो पार्टीको बैठक डाँकिएको थियो ।

सो बैठकबाट पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दी र प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने निर्णय गरेको छ ।

पार्टीका नेता तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘हाम्रो पुरानै अडान हो । एक हात लेना एक हात देना । हामी उधारो काम गर्दैनौ ।

उहाँहरू चाहेको अवस्थामा क्षणभरमै हाम्रो मुद्दा सम्बोधन गर्नसक्नु हुन्छ । तर व्यवहार देखिएको छैन । हामीले विश्वासको मत दिँदैनौ पनि भनेका छैनौ तर हाम्रो माग पूरा हुनुपर्‍यो ।’

त्यस्तै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ महिनाभित्रै रिहा गर्ने प्रतिबद्धता संसदमै गरेपनि हालसम्म पुरा हुन नसकेको दुखेसो सुनाए ।

बैठकमा सुदूरपश्चिमका ७ जना प्रदेश सभा सदस्यलगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री रावल पुस २७ गते नियुक्त भएका थिए ।

संवैधानिक प्रावधान अनुसार १ महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने भएकाले उनले माघ २६ भित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us