शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ माघ २० गते १५:४० मा प्रकाशित

काठमाण्डु,२० माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन ।

आज (शुक्रबार) सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार नै शिक्षा हो’ ‘शिक्षालाई प्राथमिकता नदिईं हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ ।

त्यसैले शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्ने भएकाले शिक्षा नै महत्वपूर्ण हो ।’

उनले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गरेको बताएका छन ।

फरक प्रसंगमा प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी पछि मन्त्रिपरिषदको पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताएका छन ।

उनले भने, ‘ निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् ।

अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफुलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौती थपिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us