गण्डकीमा तीन मन्त्री थपिए सँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाण्डु टुडे २०७९ माघ १० गते १८:०८ मा प्रकाशित

काठमाण्डु ,१० माघ- गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार नियुक्त हुने मन्त्रीमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् ।

यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

उनीहरु सबैलाई मंगलबार नै मन्त्रालयको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। सोमबार काठमाण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यसैगरी शपथ पनि आजै गराउने गरी प्रदेश प्रमुख कार्यालयले तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us