सरकारको पहलमा नेपाल आइपुग्यो पाण्डेको शव

काठमाण्डु टुडे २०७९ माघ ७ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, ७ माघ– कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा ल्याइएको छ ।

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

शुक्रबार कम्बोडियाबाट काठमाण्डु ल्याइएको उनको शव शनिबार दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएका बेला उनको मृत्यु भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो ।

मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । उनको शनिबारै कनकार्इ नदीमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us