
काठमाण्डु, २७ पुस– आज ३०१ औं पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मुलुकमा गणनत्त्र स्थापना भएपछि सरकारी तहबाट पहिलोपटक यो दिवस मनाउन लागिएको हो । त्यसअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई हरेक वर्ष राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको थियो । तत्कालीन गोरखाका राज्यका राजा पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विक्रम सम्बत १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडु उपत्यकामा विजय हासिल गरेका थिए ।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
पृथ्वी जयन्तीका अवसरमा आज उनको जन्मस्थान गोरखामा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।