
काठमाण्डु,२६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद् विघटनबारे घोचपेच चलेको छ ।
आज (मंगलबार)को प्रतिनिधि सभा बैठकमा ओलीभन्दा अघि बोलेका देउवाले संविधानको रक्षाका लागि प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन बताएका थिए ।
त्यसक्रममा उनले प्रतिनिधि सभामा सोमबार बोल्ने क्रममा ओलीले संसद् विघटन हुनसक्ने भन्दै दिएको अभिव्यक्तिको आलोचना गरेका थिए ।
देउवाले फेरि त्यस्तो अवस्था नआओस् भन्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिने भन्दै ‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्बोधनमाथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, देउवाले ओलीलाई लक्षित गर्दै भने ,।
‘ लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ? देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए ।
देउवाले विघटन गरेको मितिमा भने ओली झुक्किएका छन् । त्यसबेला ०४७ को संविधानको प्रावधानमा टेकेर विघटन गरे पनि देउवा तोकिएको समयमा चुनाव गराउन नसकेकोमा आलोचित मात्रै बनेनन्, तत्कालीन राजा ज्ञानेन्द्रले स्वयं उनैलाई हटाएर कु गरेका थिए ।