
काठमाण्डु, ५ पुस– कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हँदैछ ।
संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको उम्मेदवार पक्का भए पनि इतर समूहबाट को उम्मेदवार बन्ने भन्ने टुंगो छैन । काँग्रेसका ८९ सांसदले दल नेताका लागि बुधबार मतदान गर्दैछन् । बुधबार बिहान ८ देखि १० बजेसम्म दुई घण्टा मतदानको कार्यक्रम तोकिएको निर्वाचन समिति संयोजक नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
१४औं महाधिवेशनमा उक्त प्यानलबाट देउवालाई चुनौती दिएका डा. शेखर कोइराला र महामन्त्री गगन थापामध्ये दल नेतामा को उम्मेदवार बन्ने भन्ने हानथाप छ । इतर समूहले साझा उम्मेदवारी दिन नसके देउवा सहजै दल नेतामा दोहोरिने पक्काजस्तै छ । कोइराला–थापा समूहका नेताले निर्वाचनअघि सहमति खोज्ने प्रयासमा छलफल गरिरहेका छन् ।
यसअघि दुई पक्षबीच सोमबार भएको छलफलबाट कुनै निस्कर्ष आउन सकेको थिएन । देउवालाई दल नेतामा हराउन सक्ने आफू मात्र रहेको भन्दै थापाले सहयोग गर्न कोइरालालाई आग्रह गरेका छन् । आफू दल नेता भए पनि कोइरालालाई नै समूहको नेता मानेर जान तयार रहेको उनको भनाइ थियो ।
तर, कोइराला भने देउवाविरोधी पोलको नेतृत्व आफूले गरेकाले दल नेतामा पनि आफू उम्मेदवार बन्नुपर्ने अडानमा छन् । केही नेता भने देउवाविरुद्ध लड्न आफूहरुले दुईमध्ये एक जनालाई उम्मेदवार बनाएर अघि बढ्नुपर्ने प्रयासमा छन् ।
संसदीय दल नेताका उम्मेदवारले आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकिएको छ । मनोनयन दर्ताअघि नै सहमति जुटाउने प्रयासमा कोइराला–थापा समूहका नेताले राजधानीको एक होटलमा छलफल जारी राखेका छन् ।