प्रत्यक्ष चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

काठमाण्डु टुडे २०७९ असोज १७ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १७ असोज– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सोमबार चुनाव नलड्ने घोषणा गरेका हुन् । भट्टराई यसअघि ०६४, ०७० मा माओवादीबाट र ०७४ मा काँग्रेस समर्थनमा नयाँ शक्ति पार्टीका तर्फबाट गोरखा–२ बाट संविधानसभा र प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यसअघि भट्टराईले माओवादी चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने बताएका थिए ।

‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु’, भट्टराईले लेखेका छन् । चुनाव नलडे पनि आफू राजनीतिमा भने सक्रिय रहिरहने बताए । चुनाव नलडे पनि आफू जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता भट्टराईले जनाए ।

आफूले सांसद निर्वाचित भएर गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको र केही सुरु भएका आयोजना पूरा हुन बाँकी रहेको उनले बताए ।

बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us