युक्रेनका चार क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन् रूसका राष्ट्रपति पुटिन

काठमाण्डु टुडे २०७९ असोज १४ गते १६:०० मा प्रकाशित

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज छिमेकी युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन्। शुक्रबार दिउँसो एउटा समारोह आयोजना गरेर पुटिनले युक्रेनका डोनेत्सक, लुहान्स्क, खेर्सोन, जापोरिज्जिया क्षेत्र रूसमा गाभिएको घोषणा गर्न लागेको द गार्डियनले जानाएको छ ।

त्यसपछि पुटिनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रुसले गत २४ फेब्रुअरी मा युक्रेनमाथि सैन्य आक्रमणको सुरु गरेको थियो । विशेष कारबाहीको नाम दिइएको उक्त आक्रमणको ६ महिनापछि ती चार क्षेत्रमा रूसमा गाभिने कि नगाभिने भन्ने विषयमा जनमत संग्रह गरिएको थियो।

हतियारधारी सैनिकहरूसहित मतदान अधिकारीहरू मतपेटिका बोकेर घर(घरमा गएका थिए। चार दिनसम्म चलेको भनिएको जनमत संग्रहको नतिजामा बहुमतले रूसमा गाभिने पक्षमा मत दिएको मस्कोले जनाएको छ । रूसले गाभ्न लागेको क्षेत्र युक्रेनको कुल क्षेत्रफलको १५ प्रतिशत हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us