मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने

काठमाण्डु टुडे २०७९ असार ९ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ९ असार– राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भई १३ असारमा ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ ।

यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखेर १७ असारमा ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us