‘४४ खर्ब बराबर पुगेको सेयर बजार ३१ खर्बमा किन ओर्लियो, कारण खोजिनुपर्छ’

काठमाण्डु टुडे २०७९ वैशाख २४ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख–  झन्डै ४४ खर्ब रूपैयाँ बराबर पुँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ। कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ। यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार सेयर बजारका सन्दर्भमा एक छलफल चलाएको छ।

छलफलमा नियामक निकायदेखि सरोकारवालाको सहभागिता थियो। नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ। निराशा चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन्।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर बजारलाई परिपक्व बनाउने विषयलाई नै केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले बजारको परिपक्वतालाई सबै सम्बद्ध पक्षले गहन रूपमा बुझ्न जरूरी रहेको उल्लेख गरे। उनले बजारमा बुक बिल्डिङ विधिलाई पारदर्शी र प्रभावकारी रूपमा अभ्यासमा ल्याउनुपर्ने बताए।

बजारको सन्तुलन कायम राख्न संस्थागत लगानीको सहभागिता बढाउनुपर्ने स्पष्ट पार्दै अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयरमा कोटा छुट्याइने विषय आगामी दुई महिनाभित्रमा कार्यान्वयनमा आउने जानकारी दिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले परिपक्वता सबै क्षेत्रमा अति नै आवश्यक हुनेमा जोड दिए। उनले ४४ खर्ब बराबर पुगेको बजार पुँजीकरण ३१ खर्ब हाराहारीमा ओर्लेको भन्दै त्यसको कारण खोज्नपर्ने बताए।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको तथा केन्द्रीय बैंकले ल्याउने सानोभन्दा सानो नीतिगत व्यवस्थाले पनि प्रभावित बनाउने भएकाले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ५० लाख लगानीकर्ताको चासो र चिन्ताको विषयमा छलफल गराएको जानकारी दिए। कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भए पनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए।

पछिल्लो समय ब्याजदर वृद्धिले सेयर बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us