काठमाण्डु, ५ वैशाख– अर्थमन्त्री जनार्दन शर्माले केही व्यक्ति तथा समूहले मुुलुकको अर्थ व्यवस्थालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले अर्थतन्त्रलाई चुनावी एजेण्डा बनाउने प्रयास भएको बताए । शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा अग्रसर नभएको दाबी गरे ।
श्रीलंका र नेपालको अर्थतन्त्रको आधार नै फरक भएकाले त्यो बाटोमा नजाने उनको तर्क थियो । ‘नेपाल र श्रीलंकाको अर्थतन्त्रबीच तुलनै हुन सक्दैन’, शर्माले भने, ‘केही व्यक्ति र समूहले देशको अर्थ व्यवस्थालाई राजनीतिकरणको प्रयास गरिरहेका छन् ।’ अर्थमन्त्री शर्माले कुनै नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन नदिने गरी आफूले काम गरिरहेको दाबी पनि गरे ।
आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा अर्थतन्त्र सुधारका धेरे कार्यक्रम समावेश गर्न तयारीमा आफू रहेको उनले बताए । परिसंघ अध्यक्ष विष्णु अग्रवाल नेतृत्वको प्रतिनिधि मण्डलले आयातमा रोक लगाउने गरी एलसी खोल्न रोक्ने निर्णय फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेको थियो ।
परिसंघले विदेशी मुद्रा सञ्चितीको चाप कम गर्न आयातमा कडाई गर्नुको साटो करको दर र दायरा बढाउन सुझाएको छ ।