गभर्नर अधिकारी निलम्बित, के अब शेयर बजारमा सुधार होला ?

काठमाण्डु टुडे २०७८ चैत २५ गते २०:५७ मा प्रकाशित

काठमाण्डु, २५ चैत– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले अधिकारीलाई निलम्बन गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो ।

अधिकारीमाथि सरकारको अर्थनीतिसम्बन्धी महत्वपूर्ण सूचना चुहाएको आरोप छ । अधिकारीलाई पदमुक्त गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको छ । समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् । जाँचबुझ समितिलाई अधिकारीमाथिको आरोपबारे छानबिन गरी एक महिनाभित्र प्रतिवेदन दिन भनिएको छ ।

राष्ट्र बैंक ऐन–२०५८ मा गभर्नरमाथि छानबिन गर्न समिति गठन गरेपछि स्वतः निलम्बनमा पर्ने उल्लेख छ । ऐनको दफा २२ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन गरी समितिको सिफारिसमा मात्र निर्णय हुनुपर्ने व्यवस्था गरिएको छ ।
एक मन्त्रीका अनुसार बिलासी वस्तु आयात गर्ने तयारीबारेको सूचना अधिकारीले बाहिर ल्याएका थिए ।

समितिलाई एक महिनाभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि खटपट थियो । धितोपत्र बजारप्रति अनुदार नहुन अर्थमन्त्री शर्माले पटकपटक गरेको आग्रह अधिकारीले अस्वीकार गरेका थिए ।

अधिकारीलाई पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गभर्नरमा नियुक्त गरेको थियो । उनी एमाले अर्थ विभागका सदस्यसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us