उम्मेदवार छान्न वडास्तरमै सकस

काठमाण्डु टुडे २०७८ चैत २२ गते ७:३० मा प्रकाशित

काठमाण्डु, २२ चैत– सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ ।

आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपालाई सकस भएको हो ।

नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ । केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ ।

सदरमुकाम रहेको गोरखा नगरपालिका-६ मा काँग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकाङ्क्षी छन् । दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन् । सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ ।

‘पालिकाले टुङ्ग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ, सभापति न्यौपानेले भने, क्षेत्रसम्म नटुगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us