
काठमाण्डु, १२ पुस– काठमाण्डुका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किंदै थिए । सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठीभाटासहित उभिएका मानिससँग जम्काभेट भयो । भिडले उनको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठीभाटा बर्साउन थाल्यो ।
गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो । गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन् । छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे ।
सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राईसमक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे । र, केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन्।
गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुपै्र मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामीजस्ताले भोग्नुपर्यो । सर्वसाधारणलाई क्षति पु-याएर राज्यलाई सुनाउने कृत्य रोकिनुपर्छ।’
ना५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए । ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो । गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो ।
अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे । एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो । तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो । केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो । प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए ।
सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिनाकारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन् । नागरिक दैनिकबाट