शिक्षकका लागि ठूलो संख्यामा खुल्यो जागिर

काठमाण्डु टुडे २०७८ पुष ५ गते ८:०८ मा प्रकाशित

काठमाण्डु, ५ पुस– शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ ।

करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिए।

उनका अनुसार निमावि तहमा २ हजार ५ सय ९६ र प्रावि तहमा लागि १३ हजार ८९ शिक्षकको विज्ञापन खुला गर्ने तयारी छ। ‘सबै गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि विज्ञापन खुला गर्न लागेका हौं’ –सूचना अधिकारी मरहठ्ठाले भने । निमावि तहमा १० विषयको शिक्षकको विज्ञापन खुला हुन्छ। आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन ध्यमबाट मावि तहको आवेदन लिएको छ।

आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गर्न लागिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ थियो । पछिल्लो तथ्यांकअनुसार मावि तहमा करिब ५ सयले अनलाइनबाट आवेदन फारम भरिसकेका छन्। तीमध्ये ९७ जनाले भौचर लिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ छ। आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us