एमालेमा बन्यो ओलीको हार्डलाइनर टिम

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते ६:४५ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ ।

वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ । यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ । उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ ।

एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन् । लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन् । उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन्। ओली स्वयं विरोधीप्रति कठोर हुन्छन् । शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन् ।

एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो । अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्। उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन् । ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए । त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे। अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन् ।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो। तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us