प्रधानमन्त्री देउवा बंकरसहितको अत्याधुनिक भवनमा सर्दै

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ७:५४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन् ।

उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए ।

विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ । प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन् ।

त्यसका लागि सबै तयारी करिबकरिब पूरा भएको उनले बताए । ‘मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्न प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिएको छ’,श्रेष्ठले भने, ‘निर्देशनअनुसार मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्नेछौं ।’

प्रधानमन्त्री ज्योतिषको सल्लाहअनुसार शुभ दिन छानेर नयाँ भवनमा बसाइँ सर्नेछन् । उनलाई नयाँ भवनमा सर्न मंसिर महिना उपयुक्त भएको सल्लाह ज्योतिषले दिएको स्रोतले बतायो। तीन तलाको उक्त भवनमा सबै किसिमका सुविधा छन् ।

आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था छ। विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको आयोजनाका एक कर्मचारीले बताए । ती कर्मचारी भन्छन्, ‘अन्य देशहरूमा पनि सुरक्षाका कारण राष्ट्र प्रमुख तथा सरकार प्रमुख बस्ने भवनमा बंकरको व्यवस्था गरिएको हुन्छ ।’ भवनभित्रका कतिपय संरचना गोप्य राख्नुपर्ने ती कर्मचारीले बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us