ट्र्याक्टर चालककाे विवाह प्ररस्ताव अस्वीकार गरेपछि पुष्पाकाे हत्या

काठमाण्डु टुडे २०७८ असोज १२ गते ६:५२ मा प्रकाशित

ताप्लेजुङ, १२ असोज– शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।

हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको हत्या गरेको स्वीकार गरेका छन् ।

“पक्राउ परेका कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले हत्या भएको देखिन्छ”, प्रनाउ राणाले भने । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताए ।

विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । विवादपश्चात टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि जबरजस्ती विषादी खुवाई भीरबाट धकेलेर झारेको कार्कीले बयान दिएका छन् ।

फक्ताङलुङ गाउँपालिका–३ भर भई सदरमुकाममा डेरा गरी बस्दै आएकी पुष्पा तबेबुङ (लिम्बू) भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका–७ स्थित चारपाटेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us