ओली हटेपछि राष्ट्रपति किन मर्माहत ?

काठमाण्डु टुडे २०७८ साउन २ गते ८:३० मा प्रकाशित

काठमाण्डु, २ साउन– संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ । चेतना भया ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो ।

नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने मात्र उल्लेख गरेपछि देउवाले नसच्याएसम्म शपथ नलिने अडान लिए ।   शपथ लिन तोकिएको पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घण्टापछि मात्र राष्ट्रपति भण्डारी नियुक्तिपत्र सच्याउन तयार भइन् ।

शपथमा सर्वोच्च अदालतको आदेश र संविधानको ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भन्ने बेहोरा राखिएको राष्ट्रपति कार्यालयका सचिवले उच्चारण गरे । नियुक्तिपत्रलाई लिएर राष्ट्रपति भण्डारी र नयाँ प्रधानमन्त्री देउवाबीचको तिक्तता त्यतिमा मात्र सीमित रहेन । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन् । तर, मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुखबीच बोलचाल भएन, आँखा पनि जुधेनन् ।

नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपतिले बधाई दिने औपचारिकतासम्म पूरा गरिनन् । राष्ट्रपतिले विगतको परम्परालाई निरन्तरता दिँदै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग नयाँ प्रधानमन्त्रीलाई चिनाउने कुरा त झनै टाढाको विषय बन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us