
एजेन्सी– बलिउडका वरिष्ठ अभिनेता दिलिप कुमार (मोहम्मद युसुफ खान) को ९८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचाररत उनको बुधबार बिहान ७ः३० को समयमा निधन भएको हो । २२ वर्षको उमेरमा उनले १९४४ मा ‘ज्वार भाटा’ नामको चलचित्रबाट अभिनय यात्रा थालेका थिए ।
दिलिप कुमारको अभिनय यात्रा पाँच दशकसम्म चल्यो । दिलिपले अभिनय गरेका ६० बढी चलचित्र छन् । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित चलचित्रमा अभिनय गरेका थिए । उनको अन्तिम चलचित्र १९९८ मा प्रदर्शनमा आएको किला हो ।
दिलिप कुमारलाई पाकिस्तानले सन् १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मान गरेको थियो । दिलिपकुमारको जन्म ११ डिसेम्बर १९२२ मा भारत–पाकिस्तान विभाजनअघि पेशावरमा भएको थियो । उक्त स्थान हाल पाकिस्तानमा पर्छ ।
।