एउटै पोशाक लगाएर मञ्चमा देखिए देउवा र पौडेल, तर…

काठमाण्डु टुडे २०७७ फागुन ६ गते १९:११ मा प्रकाशित

पोखरा, ६ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एउटै मञ्चबाट पार्टी विवाद छताछुल्ल पारेका छन् ।

बिहीबार पोखरामा आयोजित राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सम्मेलनको मञ्चमा सँगै बसेका देउवा र पौडेलले प्रतिनिधिसभा पुर्नस्थापनाबारे फरकफरक अभिव्यक्ति दिए । देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच् अदालतमा विचाराधीन रहेकाले त्यसलाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिन नहुने बताए । उनले अदालतले पुर्नस्थापना वा निर्वाचन जेमा निर्णय गरे पनि स्वीकार्य हुने स्पष्ट गरे । अदालतको निर्णय सबैले मान्नुपर्ने भन्दै देउवाले सडकमा नारा जुलुस पर्ने पक्षमा आफू नरहेको बताए । तर, देउवाभन्दा पछि बोलेका पौडेलले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए ।

उनले संसद पुर्नस्थापना गरेर लोकतन्त्रमाथि आइलागेको खतरा टार्नुपर्ने विचार व्यक्त गरे । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर ७० वर्षदेखि विभिन्न कालखण्डमा भएका आन्दोलन र शहीदहरुका बलिदानको जगमा निर्माण भएको संविधान र संघीय गणतन्त्रमाथि हमला गरेको आरोप लगाए ।

उनले अदालतले संविधानमा भएको व्यवस्थाअनुसार संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओली संविधान फाल्ने नियतका साथ अघि बढेकाले पहिलो प्राथमिकता संविधान बचाउनुरहेको पौडेलले बताए । संविधान बचाएन सकिए निर्वाचन फेरि गर्न कुनै कठिनाई नहुने प्रष्ट गरे । संसद पुर्नस्थापना नभए मुलुक युद्धमा जाने र अफगानिस्तानको जस्तै अवस्था आउन सक्ने उनले उल्लेख गरे । तर, पौडेल बोल्ने बोलमा देउवा आफ्ना कुरा राखेर हतार छ भन्दै कार्यक्रमबाट बाहिरिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us