चर्चामा आउन मेराविरुद्ध अवहेलना मुद्दा दर्ता भयोः ओली

काठमाण्डु टुडे २०७७ फागुन ६ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– प्रधानमन्त्री केपी ओलीले आफूले अदालतको अवहेलना हुनै कुनै काम नगरेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार अवहेलना मुद्दामा जवाफ दिन बिहीबार अदालतमा उपस्थित भएका ओलीले आफूले अदालतको हवहेलना गर्छ भन्ने सोच्नु नै दुरासयपूर्ण भएको टिप्पणी गरेका छन् । अदालतप्रति आफ्नो उच्च सम्मान रहेको ओलीको भनाइ थियो । ओलीले लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि ५ दशकभन्दा बढी संघर्ष गरेको व्यक्ति (आफू) बाट त्यस्तो काम हुनै नसक्ने जिकिर उनले गरे ।

ओलीले आफूले बोल्दै नबोेलेको विषयमा बोलेको भनेर मुद्दा दायर गरिएकामा आपत्ति जनाए । ओलीले चर्चामा आउन जथाभावी मुद्दा दर्ता गर्ने प्रक्रिया रोक्नुपर्ने उनको माग छ । ‘लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यासी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ’, जवाफमा ओलीले भनेका छन्, ‘त्यसमा नियन्त्रण गर्न जरुरी देखिन्छ ।’

ओली अवहेलना मुद्दामा लिखित जवाफ दिन बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने तथा न्याय जगतका गुरुका रुपमा परिचित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि अपमानजनक टिप्पणी गरेकामा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दुई बेग्लाबेग्लै रिट दायर गरेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत १५ माघमा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न प्रधानमन्त्रीलार्ई आदेश दिएको थियो । तर, सर्वोच्च अदालतबाट त्यससम्बन्धी पत्र प्रधानमन्त्री कार्यालय पुग्न १७ दिन लागेको थियो । प्रधानमन्त्री ओलीले गत आइतबार मात्र अदातलको पत्र बुझेका थिए ।

प्रधानमन्त्री ओली गत ९ माघमा राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित आफ्नो समूह निकट बुद्धिजिवी कार्यकर्तालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘बाजे वकिल’ र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा जारी बहसलाई ‘तमासा’ को संज्ञा दिएका थिए । ‘म साथीहरूलाई भन्न चाहन्छु, कुनै अन्यौल राख्नु पर्दैन ।

संविधानमा प्रतिनिधिसभा पुर्नस्थापना गर्ने कुनै ठाउँ छैन । केही वकिलहरूले कुरा फिट्याफिट्यै छन् ’, ओलीले भनेका थिए, ‘एकजना बाजे वकिललाई पनि त्यहाँ (सर्वोच्च अदालत) लिएर गएछन् तमासा देखाउन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us