टोपबहादुरको उपहार, जुम्ला अन्धकार !

काठमाण्डु टुडे २०७७ माघ ७ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, ७ माघ– ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ अन्त्यको योजनाकार आफैं भएको दाबी गरे ।

त्यसपछि पनि विभिन्न कार्यक्रममा उहाँले लोडसेडिङ अन्त्यको जस आफूले पाउनुपर्ने बताउँदै आए । मन्त्री रायमाझीले लोडसेडिङ हटाएको जस आफूले पाउनुपर्ने बताइरहेका बेला विद्युत्् प्राधिकरणको जुम्ला वितरण केन्द्रले भने लोडसेडिङ तालिका नै सार्वजनिक गरेको छ ।

दुई समूहमा विभाजन गरेर सार्वजनिक तालिकामा समूह ’क’ मा दिउँसो १२ देखि साढे १२ बजेसम्म र राति साढे ९ देखि १२ बजेसम्म बिजुली नदिने उल्लेख छ । त्यस्तै समूह ’ख’ मा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म बिजुली बत्ती निभ्ने बताइएको छ ।

सूचनामा हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ देखि १० बजेसम्म र दिउँसो ४ देखि ६ बजेसम्म विद्युत्गृह बन्द हुने बताइएको छ । पिक लोड (बिजुली बढी खपत) को समयमा वितरण प्रणालीमा विद्युत् अपुग हुन गएमा ‘ख’ मा रहेका ग्राहकको लाइन काटिने पनि बताइएको छ ।

यसअघि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले समेत कुनै पनि हालतमा लोडसेडिङ नहुने दाबी गरेका थिए । ऊर्जामन्त्री र प्राधिकरणले देशमा फेरि लोडसेडिङ नहुने दाबी गरेको दुई हप्ता नहुँदै जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ गरेको हो ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us