काठमाण्डु, २० वैशाख– अर्थ क्षेत्रका विज्ञहरुबीच आज अर्चुअल अन्तरक्रिया हुँदैछ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्राथमिकता दिनुपर्ने विषयमा ‘भर्चुअल’ अन्तरक्रिया हुन लागेको हो ।
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले दिवंगत पूर्वअर्थमन्त्री अधिकारीको ८५औं जन्मोत्सवको अवसर पारेर ‘आर्थिक वर्ष २०७७/०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया आयोजना गरेको हो ।
प्रतिष्ठानका सल्लाहकार केशव आचार्यले राजश्व, भन्सार, चालु र पुँजिगत खर्च, सामाजिक सुरक्षालगायत बजेटका सबै पाटाबारे विज्ञहरुबीच अन्तरक्रिया गर्न लागिएको जानकारी दिए । अन्तरक्रियाबाट आउने सुझावलाई बजेट निर्माणमा समावेश गराउन अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाइने पनि आचार्यले बताए ।
‘भरतमोहन अधिकारीले अर्थमन्त्रीमा रुपमा नेपालको अर्थतन्त्रमा ऐतिहासिक योदगान दिनुभएको छ’, आचार्यले भने, ‘आगामी वर्षको बजेटको तयारी र उहाँको जन्मोसवको पूर्वसन्ध्यामा उहाँको योगदानलाई सम्झने र भावी बजेटको प्रारुपबारे छलफल गरेर अर्थमन्त्रीलाई सुझाव दिन उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।’
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा. स्वर्णिम वाग्ले, पूर्वसांसद एवं योजना आयोगका पूर्वसदस्य डा. डिल्लाराज खनाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लालबाबु यादव, अर्थविद डा. गोविन्दबहादुर थापा, डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र नेकपा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्री सहभागी हुनेछन् ।
पूर्वअर्थमन्त्री अधिकारीले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारमा अर्थमन्त्री छँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत स्थानीय तहमा बजेट पठाउने कामको सुरुआत गरेका थिए ।
यस्तै ज्येष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने लोकप्रिय कार्यक्रम पनि अधिकारीले नै ल्याएका थिए ।
अपराह्न तीन बजदेखि सुरु हुने अन्तरक्रियाको काठमाण्डुटुडेडटकमको फेसबुक फेजमार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिने छ ।