आधा दर्जन फिल्मबाट हटाइएकी करिना

काठमाण्डु टुडे २०७६ फागुन २७ गते १५:४३ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा काम गर्ने क्रममा आफूलाई पारिश्रमिक माग गर्दा फिल्मबाट हटाइएको बताएकी छन् ।

आफू केही मोटो भएको र निर्माता निर्देशकको मागअनुसारको ग्लामर दृश्य दिन नसकेर पनि फिल्मबाट हटाइएको यी नायिकाले बताएकी छन् ।

‘फिल्म खेल्ने क्रममा पहिलो फिल्मको प्रस्तावदेखि नै पारिश्रमिकको कारण म निकालिएको थुप्रै घटना छन्,’ करिनाको भनाइमा निर्माताहरू सुरुमा भनेको जति पारिश्रमिक दिन्छु भन्छन् तर कुरा गर्न बसेपछि पारिश्रमिकबारे ठूलै मोलमोलाइ गर्छन् । ‘मलाई एउटा फिल्मको स्क्रिप्ट साह्रै मन परेको थियो र त्यो फिल्म खेल्न म उत्साहित थिएँ ।

फिल्म खेल्ने सहमति भएपछि मैले अरू फिल्मबाट लिइरहेकै पारिश्रमिक माग्दा मलाई हटाइयो,’ आफूले बजारमा चलिआएको र अरू कलाकारले लिएको दाँजोमा बढी पारिश्रमिक कहिल्यै नमागेको पनि यी अभिनेत्रीले बताएकी छन् ।

आफूलाई सुरुका दिनमा त साह्रै नै कम पारिश्रमिक दिइएको पनि यी अभिनेत्रीले बताएकी छन्, ‘कतिपय फिल्ममा हामीले आपसी सहमतिमा कम पारिश्रमिकमा काम पनि नगरेको होइनौं । तर, मलाई हटाएर मैले मागेको भन्दा धेरै पारिश्रमिक दिएर अरू कलाकार राखेका घटनाहरू पनि छन् ।’

पारिश्रमिक मात्र होइन, शारीरिक कारणले पनि केही फिल्मबाट निकालिएको यी अभिनेत्रीको कथन छ । आफू केही मोटो भएको बेला दुब्लाउन नसकेको भन्दै एउटा फिल्मबाट आफूलाई निकालेको अभिनेत्री करिनाले खुलाएकी छन्, ‘म केही मोटी थिएँ र म त्यसलाई जसरी पनि सन्तुलन गर्छु भन्दै थिएँ ।

मेरो शरीरबारे मलाई कुनै अप्ठेरो महसुस नहुँदा पनि छायांकनको दिन नजिकिएपछि मलाई फिल्मबाट हटाइयो ।’ आफू पन्जाबी नारी भएको र परोठालगायत अमिलो, पिरो, जिल्लो खानेकुरा निकै मनपर्ने भएकाले त्यतिबेला शरीर घटाउन नसकेकै कारण फिल्मबाट निकालिनुपरेको करिनाको
भनाइ छ ।
यस्तै, सुरुका दिनमा एउटा फिल्ममा ग्लामर रूपमा प्रस्तुत हुन नसक्ने भएपछि निकालिएको पनि करिनाले बताएकी छन् । त्यसपछि परिवारको सहमतिमा आफूलाई फिल्ममा पूर्ण ग्लामर रूपमा प्रस्तुत गर्न र चुम्बन तथा बोल्ड सिन दिन पनि सफल भएको करिनाले बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us