एसिया कप छनोट खेल्ने नेपालको सपना तुहियो

काठमाण्डु टुडे २०७६ फागुन २१ गते १६:४२ मा प्रकाशित

काठमाण्डु , २१ फागुन – सिंगापुरले हङकङलाई हराएसँगै नेपालको एसीसी एसिया कप छनोट खेल खेल्ने सपना सकिएको छ ।
बुधबार भएको खेलमा यदि हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनौट खेल्ने झिनो आशा थियो । तर सिंगापुरले हङकङलाइ १६ रनले पराजित गरेपछि नेपालको त्यो झिनो आशापनि समाप्त भएको हो ।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार ब्यहोरेको थियो । तेस्रो खेलमा आएर आयोजक टिम थाइल्याण्डलाई नौ विकेटले हराएर २ अंक जोडेको नेपालको लागी एसिया कप छनौटको सम्भावना चार घण्टा पनि नटिक्दै तुहिएको छ ।
बुधबार भएको खेलमा सिंगापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतीमा एक सय ६८ रन बनायो । उसका लागि टिम डेभिडले ५८ रन बनाए भने सुरेन्द्रम चन्द्रमोहनले ३२ तथा सिद्धान्त सिंहले १७ रन बनाए । यस्तै मनप्रित सिंहले ४२ रनको योगदान गरे ।
जवाफमा हङकङ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ५२ रनमा रोकियो । अब नेपालले आफ्नो अम्तिम खेल शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us