आईपीएलको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने

काठमाण्डु टुडे २०७६ फागुन २१ गते १६:०१ मा प्रकाशित

काठमाण्डु,२१फागुन–इन्डियन प्रिमियर लिगमा च्याम्पियनको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने भएको छ ।

यसअघि २० करोड भारतीय रुपियाँ पाउँदै आएको च्याम्पियनले अब भने दश करोड मात्रै पाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड९बीसीसीआई०ले जनाएको छ ।

समाचार संस्था पीटीआईका बमोजिम बीसीसीआईले आईपीएलको खर्च कटौती गर्ने मापदण्ड बमोजिम पुरस्कार राशी घटाउन लागेको छ । उपविजेता टोलीले यसअघि १२ करोड ५० लाख भारतीय रुपियाँ पाउँदै आएकोमा अब भने छ करोड २५ लाख मात्रै पाउनेछन् ।

बीसीसीआईले उक्त परिपत्र आईपीएलमा सहभागी हुने सबै फ्रेञ्चाइज टोलीलाई पठाएको छ ।
पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै फ्रेञ्चाइज टोलीसँग आफैं पनि आम्दानीको उपाय रहेकोले पुरस्कारको राशी घटाइएको उल्लेख गरेको छ ।

त्यसैगरी, बीसीसीआईमा कार्यरत मध्य ओहोदाका कर्मचारीले श्रीलङ्का, बङ्गलादेश वा यूएईसहित आठ घण्टाभन्दा कम्ती अवधि उडान हुने राष्ट्रको भ्रमण गर्दा बिजनेश श्रेणिको टिकट उपलब्ध गराइने छैन् ।

मुम्बई इन्डियन्सको ब्राण्ड मूल्याङ्कन यसपटक पनि वृद्धि भएको छ । यसअघि छ अर्ब ३० करोड रुपियाँ रहेको ब्राण्ड मूल्याङ्कन २०१९ मा भने ८ अर्ब नौ करोड पुगेको छ । कलकत्ता र रोयल च्यालेन्जर्स बैंग्लौरको ब्राण्ड मूल्य भने आठ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us