नुवान प्रदीप र डी सिल्भा श्रीलङ्काली टोलीबाट बाहिरिए

काठमाण्डु टुडे २०७६ फागुन २० गते १६:५५ मा प्रकाशित

काठमाण्डु,२०फागुन–नुवान प्रदीप र धनञ्जय डी सिल्भा श्रीलङ्काको टी ट्वान्टी टोलीबाट बाहिरिएका छन् । वेष्टइन्डिज विरुद्धको श्रृखंलाको लागि श्रीलङ्काले घोषणा गरेको टोलीबाट दुबैजनालाई हटाइएको छ ।

श्रीलङ्काली क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा नुवान प्रदीपको स्थानमा असिथा फर्नान्डोलाई भित्र्याइएको छ । डी सिल्भाको स्थानमा टोलीमा कसैलाई नल्याउने बोर्डले जनाएको छ ।

वेष्टइन्डिज विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको तेस्रो खेलमा नुवान प्रदीपले पाँचौं ओभरमा तीन बल बलिङ गरेपछि खुट्टामा समस्या देखिएपछि मैदानबाट बाहिरिएका थिए । उनलाई निको हुन छ साता लाग्ने जनाइएको छ ।

डी सिल्भा पनि खेलको बीचमै पाँच ओभर बलिङ गरेर मैदान छोडेका थिए । नुवान प्रदीपको स्थानमा टोलीमा स्थान बनाएका फर्नान्डोले सन् २०१७ मा जिम्बाबवे विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो म्याच खेलेका छन ।

फर्नान्डोले दुई ओभरमा २२ रन खर्चिदा जिम्बाबवेले उक्त खेल दश बल बाँकी छदै जितेको थियो ।
दुई टोलीबीचको पहिलो टी ट्वान्टी म्याच कैन्डीमा बुधबार खेलाइनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us