
एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह तथा दीपिका पादुकोण बलिउडमा निकै चलेका दम्पत्ति हुन्, उनीहरु एकअर्काबारे बारम्बार प्रशंसा पनि गरिरहेका हुन्छन् ।
दुवैजनाले फिल्म उद्योगमा राज पनि गरिरहेका छन् । दीपिका पादुकोण तथा रणबीर सिंहको रिलमा होस् या रियलमा जोडी राम्रो जमेको छ ।
अब यो जोडीबारे एउटा समाचार आएको छ । त्यो हो– रणबीर सिंहले एउटा फ्ल्याट भाडामा लिएका छन् । र, यो त्यही भवनमा हो जहाँ दीपिकाको घर छ ।
भारतीय सन्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार रणबीरले जुन भवनमा फ्ल्याट भाडामा लिएका छन्, त्यही भवनमा २६ औं तलामा दीपिकाको घर छ ।
रणबीरले यो फ्ल्याटका लागि प्रत्येक महिना ७ लाख २५ हजार भारतीय रुपैयाँ तिर्ने पनि रिपोर्टमा उल्लेख गरिएको छ । तेस्रो वर्षदेखि यो भाडा ७ लाख ९७ हजारा भारतीय रुपैयाँ हुने पनि लेखिएको छ ।
यी दुईले लामो समयको प्रेमलाई गत वर्ष इटालीमा विवाह गरेर दाम्पत्य जीवनमा बदलेका थिए ।