काठमाण्डु , ९ पुस— नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो दिन बुधबार झिनो अंकले सुधार भएको छ ।
बुधबार १.८२ अंकले बढेर ११६८.०३ बिन्दुमा पुगेको छ ।
कुल १७५ वटा कम्पनीको १६ लाख ८१ हजार कित्ता शेयर ५३ करोड ८३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक बढे पनि शेयर संख्या र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज कारोबारमा आएका समूहमध्ये व्यापार, हाइड्रोपावर, वित्त, लघुवित्त समूह घटेका छन् भने बाँकी सबै समूह बढेका छन् ।
आज पनि सानिमा बैंकको ऋणपत्रको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको ४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ भने प्राइम कमर्सियल बैंकको ४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक बढे पनि नेपाल सेवा माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेपाल फाइनन्स कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।