काठमाण्डु , ८ पुस— लगातार बढेको नेप्से आज मंगलबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज नेप्से मंगलबार २.३७ अंकले घटेर ११६६.२१ बिन्दुमा झरेको छ ।
कुल १७१ वटा कम्पनीको २० लाख २९ हजार कित्ता शेयर ७२ करोड १६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचक घटे पनि कारोबार शेयर संख्या र कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उच्च अंकले बढेको छ । आज कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार, वित्त, अन्य र सामूहिक लगानी कोष समूह बढेका छन् भने बाँकी सबै घटेका छन् ।
आज पनि शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै अर्थात १० करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै नागरिक लगानी कोषको ८ करोड ८२, लाख र नेपाल बैंकको ७ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक घटे पनि सपोर्ट माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।