काठमाण्डु , ६ पुस— साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से १.१७ अंकले बढ्दा परिसूचक ११५०.८१ बिन्दुमा पुगेको छ ।
कुल १६७ वटा कम्पनीको १४ लाख ८८ हजार कित्ता शेयर करिब ३७ करोड ४४ लाख रुपैयाँमा कारोबार भएको छ । यस दिन परिसूचक र कारोबार शेयर संख्या बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आज कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् ।
आज शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन शिवम् सिमेन्ट र पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।