पेप्सी उत्पादन गर्ने कम्पनीविरुद्ध ६५ करोड कर छलीको मुद्दा

काठमाण्डु टुडे २०७६ पुष ४ गते १०:५४ मा प्रकाशित

काठमाण्डु , ४ पुस— नेपालको पेप्सी उत्पादन गर्ने कम्पनीलाई कर छलीको मुद्धा लागेको छ ।

पेप्सी उत्पादन गर्ने बरुण वेभरेज कम्पनीलाई झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको अभियोगसहित राजश्व अनुसन्धान विभागले बरुणविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९५ लाख रुपैयाँ कर छली गरेको आरोप लगाइएको छ। बरुणले मूल्य अभिवृद्धि कर तथा आयकर छली गर्नको लागि नक्कली बिल प्रयोग गरेको अभियोग लगाउँदै मुद्दा दायर गरिएको हो।

विभागले ६४ करोड बिगो र त्यसको दोब्बर जरिवानासहित १ अर्ब ९४ करोड रुपैयाँ र ३ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।बरूणले नक्कली बिलको कारोबार गर्नेहरूसँग मिलेमतो गरी कर छली गरेको विभागको दाबी छ। उपभोक्ताबाट कर उठाए पनि सरकारलाई कर नदिन नक्कली बिल प्रयोग गरिएको मैनालीले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us