काठमाण्डु , ४ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि नेप्से १.६५ अंकले घटेर परिसूचक ११२८.३४ बिन्दुमा झरेर कारोबार बन्द भएको छ ।
विहान कारोबार शुरु भएपछि केही सुधार हुने संकेत देखाएको भए पनि १२ बजेपछि निरन्तर ओरालो लाग्दा यस्तो भएको हो । साताको शुरुदेखि नै नेप्सेमा गिरावट हुँदै आएको छ । बधबार कुल १६५ वटा कम्पनीको १० लाख ९७ हजारभन्दा बढी कित्ता शेयर ३० करोड ३७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढी हो ।
आज कारोबारमा आएका समूहमध्ये बैकिङ र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ५४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश दिने भएपछि यस बैंकको कारोबार उच्च हुँदै आएको छ ।आज पनि अघिल्ला दिनमा जस्तै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । यस कम्पनीको दिनहुँ १० प्रतिशतका हाराहारीमा शेयर मूल्य बढ्दै गएको छ । आज रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले घटेको छ ।
परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले बढेको छ ।