ओरालो लाग्ने क्रममा नेप्से

काठमाण्डु टुडे २०७६ मंसिर ३ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर—नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि नेप्से १.१४ अंकले घटेर परिसूचक ११२९.९९ बिन्दुमा झरेको छ ।
कुल १६३ वटा कम्पनीको १० लाख १६ हजारभन्दा बढी कित्ता शेयर २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचकसँगै कारोबार रकम र शेयर संख्या पनि घटेको छ । आज कारोबारमा आएका समूहमध्ये बैकिङ, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड २० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
आज पनि अघिल्ला दिनमा जस्तै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । आज सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतले घटेको छ । परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us