नायिका पोखरेल साधारण तारेखमा रिहा

काठमाण्डु टुडे २०७६ कार्तिक २९ गते १७:०८ मा प्रकाशित


काठमाण्डु,२९कात्तिक–बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् ।

निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाण्डुमा हाजिर भएकी थिइन् ।

शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो ।

अदालतले छवि ओझा र उजुरीकर्ता हेमा ओझाबीच अंशबण्डा भइसकेकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा नै प्रतिवादी शिल्पालाई दोषी मान्न सकिने आधार नदेखिएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।
छविराज ओझा र शिल्पाले वि.सं. २०७३ असारमा बिहे गरेका थिए ।
पारिवारिक मनमुटाव भएपछि गत असारमा पति छवि ओझाविरुद्ध शिल्पा पोखरेलले उजुरी दिएकी थिइन् । उनले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us