काठमाण्डु , १८ कात्तिक नेपाली राष्ट्रिय फुटबल टोली आइतबार म्यान्मा प्रस्थान गरेको छ ।
घरेलु मैदान दशरथ रंगशालामा ३ मंसिरमा कुवेतविरुद्ध हुने विश्वकप छनोटको खेलको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि म्यान्मा प्रस्थान गरेका हुन् ।
नेपाल र म्यान्माबीचको मैत्रीपूर्ण खेल बिहीबार हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरलगायतले टोलीको बिदाइ गरेका थिए । गत महिना जोर्डनविरुद्ध भएको विश्व कपको छनोटमा रहेको टोलीका ४ खेलाडी यसपटक टोलीमा छैनन् । नियमित कप्तान किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यसपटक २३ सदस्यीय टोलीमा छैनन् । भरत खवासले ६ महिनाभन्दा लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्दा गोलकिपर एलेन न्यौपाने पनि टोलीमा स्थान बनाएका छन् । सुवास गुरुङ र मिक्चेन तामाङ पहिलो पटक टोलीमा समेटिएका छन् ।
नेपाली टोलीमा
विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रेजिन धिमाल, सुमन अर्याल, सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ, भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल र नवयूग श्रेष्ठ रहेका छन् ।