काठमाण्डु , २९ असोज— नेपालले हिजो भएको खेलमा हार बेहोरेको छ । विश्वकप फुटबलको छनोट अन्तर्गत एसियाली क्षेत्रको छनोटको दोस्रो चरणमा मंगलबार राति अन्तर्राष्ट्रिय रंगशाला अम्मानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो । भएको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको हो ।
पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । नेपाली टोलीको रक्षापंक्ति दोस्रो हाफमा कमजोर देखियो । तीनै गोल दोस्रो हाफमा खायो । जितसँगै जोर्डनले तीन खेलबाट सात अंक जोडेको छ ।
नेपालको भने चार खेलबाट मात्रै तीन अंक छ । तीन खेलमा हार र एक खेलमा मात्रै नेपाली टोली विजयी भएको छ । नेपालले आउँदो नोभेम्बर १९ मा घरेलु मैदानमा कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । जोर्डनभन्दा अघि नेपाली टोली अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।
त्यसअघिका खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो ।