सन्दीप ‘द हन्ड्रेड’ को ड्राफ्टमा, १ लाख पाउण्ड तलब

काठमाण्डु टुडे २०७६ असोज १७ गते १२:५५ मा प्रकाशित

काठमाण्डु , १७ असोज —आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने भनिएको द हन्ड्रेड (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) को ड्राफ्टमा नेपालका युवा लगेस्पिनर सन्दीप लामिछाने परेका छन्।

आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका विदेशी खेलाडी पर्न सफल भएका छन्। ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन्।२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ। खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए। खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ। एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ।

जसमा सन्दीपको १ लाख पाउन्ड (१ करोड ३९ लाख ७८ हजार रुपैयाँ) मूल्य छ। सन्दीपसँगै ७ विदेशी खेलाडीले १ लाख पाउन्ड मूल्य राखेका छन्। जसमा हरवजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो र केइरन पोलार्ड छन्।

८ जना खेलाडीको मूल्य भने १ लाख २५ हजार पाउन्ड छ। बढी मूल्य राख्ने खेलाडीमा अस्ट्रेलियाका स्टिम स्मिथ, माइकल स्टार्क, डेभिड वार्नर, क्वान्टन डे कक, लुङ्गी एनगिडी, कागिसो रबाडा, लासिथ मालिङ्गा र क्रिस गेल छन्।प्रतियोगिताका लागि टिमहरुले पहिलो चरणको ड्राफ्टमार्फत केहि खेलाडी भित्राइसकेका छन्। अब २० अक्टोबरमा हुने ड्राफ्टमार्फत टिमहरुले १५ सदस्यीय टिम बनाउनु पर्नेछ।एक टिमले बढीमा ३ जना मात्र विदेशी खेलाडी राख्न पाउनेछन्। जसका कारण नेपालका सन्दीप टिममा पर्नु चुनौतीपूर्ण देखिएको छ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिता इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले आयोजना गर्न लागेको हो। प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगिता महिला र पुरुष दुवैको हुनेछ।
द हन्ड्रेडु मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ।

टी–२० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता गर्न लागेको हो। सन् २०१८ मा इसिबीले १०० बलको क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको थियो। पहिलो १५ ओभर ६–६ बलको हुने र अन्तिम ओभर १० ओभरको हुने भनिएको थियो। तर यो प्रस्ताव नियम परिवर्तन गरिएको छ।अब हुने द हन्ड्रेड मा दुवै टिमले १००–१०० बल खेल्नेछन्। १०–१० बलमा इन्ड चेन्ज गरिनेछ (एउटा इन्डबाट १० बल गरिनेछ)। एक बलरले ५ वा १० बल निरन्तर गर्न पाउनेछ। एक बलरले एक खेलमा बढीमा २० बल गर्न पाउनेछ। खेलमा पहिलो २५ बलको पावरप्ले हुनेछ। पावरप्लेमा ३० यार्डको सर्कलबाहिर २ फिल्डर मात्र राख्न पाइनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us