दादा साहेव फाल्के अवार्ड’ अमिताभ बच्चनलाई

काठमाण्डु टुडे २०७६ असोज ८ गते १२:०६ मा प्रकाशित

एजेन्सी –भारतीय फिल्मको सबैभन्दा ठूलो सम्मान ‘दादासाहेव फाल्के अवार्ड’ अमिताभ बच्चनले पाउँदैछन्।
भारतका सूचना तथा प्रशारणमन्त्री प्रकाश जावेदकरले ट्वीट गर्दै यो अवार्डको घोषणा गरेपछि अहिले अभिनेता बच्चनलाई संसारभरबाट बधाईको ओइरो लागेका छन्।
यो अवार्डको घोषणाले आफू कृतज्ञ भएको भन्दै अभितावले पनि ट्वीट गरेका छन्। हात जोडिएको फोटोसहित उनले ट्वीटमा लेखेका छन् ‘म कृतज्ञ छु। परिपूर्ण, सबैलाई आभार अनि धन्यवाद‘ म केबल एक विनयपूर्ण, विनम्र अमिताभ बच्चन हुँ।’
७६ वर्षको उमेरसम्म पनि बच्चन अझैं फिल्ममै सक्रिय छन्।
बच्चनका छोरा अभिषेकले पनि मन्त्री प्रकाश जावेदकरको ट्वीट शेयर गर्दै भनेका छन् ‘असिमित खुसी र, धेरै धेरै गर्व।’ अनि छोरी श्वेता बच्चनले भनेकी छिन् ‘तपाईंको दादा–साहेब फाल्के० को होरु अविश्वसनीय उत्साह, गर्व, आँशु अनि सामान्य उन्माद। बधाई पापा।’
भारतीय सिनेमा विकासमा उत्कृष्ट योगदानका लागि यो अवार्ड दिने गरिन्छ। भारतीय सिनेमा क्षेत्रमा यो सबैभन्दा उच्च सम्मानित पुरस्कार हो। भारतीय सिनेमाका पिता मानिने ढुण्डिराज गोविन्द फाल्केको स्मरणमा यो सम्मान दिइन्छ। उनलाई दादा साहेव उपमा दिइएको छ।
यो अवार्डका लागि स्वर्ण कमल तथा दश लाख नगद पुरस्कार छ। सबैभन्दा पहिला यो अवार्डबाट भारतीय अभिनेत्री देविका रानीलाई सम्मानित गरिएको थियो। अहिलेसम्म सम्मान राज कपुर, शशी कपुर, विनोद खान, लता मगेंशकर, आशा भोस्लेलगायत कलाकारहरुले पाइसकेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us