
काठमाण्डु, ४ असोज– नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले चीनको महत्वाकांक्षी आयोजना ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बीआरआर्ई) ले विश्वमा नयाँ व्यवस्थाको ढोका खोलेको बताएका छन् ।
उनले उक्त आयोजना पश्चिमाहरुको शोषणमा आधारित राज्य व्यवस्थाको विकल्पमा समाजवादी र प्रगतिशील राज्य स्थापनाको बाटो भएको दाबी गरे । उनले पश्चिममा मुलुक केन्द्रित वित्तीय पुँजीको शोषणमा आधारित विश्व व्यवस्थाको विकल्प बीआरआईमार्फत चीन दिन खोजेको बताए ।
समानतामा आधारित विश्व व्यवस्थाको पक्षमा हुनेहरुले त्यसको समर्थन गर्नुपर्ने भुसालको भनाइ थियो । ‘यो शोषणमा आधारित पश्चिमाहरुको राज्य व्यवस्थाविरुद्ध प्रगतिशील राज्य व्यवस्था बनाउने प्रस्थानबिन्दु हो’, शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भुसालले भने, ‘यो विश्वका सबै जनता र मुलुकको साझा भविष्य खोज्ने प्रयास हो ।’
एउटै मुलुकमा पहिला समाजवाद स्थापना गरेर बाँकी देशमा समाजवाद ल्याउने भन्दा सोभियत संघ विघटन भएको चर्चा गर्दै भुसालले चीनले त्यो कामजोरीबाट पाठ सिकेर बीआरआईमार्फत नयाँ बाटो पहिल्याएको बताए ।
यद्यपि चीनले स्थापना गर्न खोजेको विश्व व्यवस्थाको विरुद्धमा हाल विश्व व्यवस्थाको चाबी लिएर बसेकाहरुले संगठित रुपमा प्रयास गरिरहेको उनको भनाइ थियो ।