क्यान निर्वाचन१० र ११ गते हुने

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १६:०१ मा प्रकाशित

काठमाण्डु,३०भदौ–नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।
यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने\नहुनेबारे अन्यौल भएको थियो ।
राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आइसिसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
उनले अब बस्ने आइसिसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए ।
त्यस्तै नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आइसिसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो ।
त्यसैगरी आइसिसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताए । उनले निर्वाचन भएपछि औपचारिक रुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आइसिसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us